काठमाडौं । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कबाट दबाव बढेपछि वाणिज्य बैङ्कहरुले गाभिन (मर्जर) मा जाने तयारी थालेका छन् । ग्लोबल आईएमई बैङ्कले आफ्नो पुँजीगत आधार बलियो बनाउन ३ ओटा वाणिज्य बैङ्कसँग मर्जरमा जानका लागि छुट्टाछुट्टै छलफल थालेको छ । ग्लोबलले कुमारी बैङ्क, नेपाल बंगलादेश बैङ्क र सेञ्चुरी कमर्सियल बैङ्कसँग मर्जरका लागि बेग्लाबेग्लै छलफल थालेको हो । कुमारी, सेन्चुरी र नेपाल बंगलादेशसँग प्रारम्भिक छलफल सुरु भएको स्रोतले बतायो । ‘छलफल सकारात्मक रुपमा अघि बढेको छ हेरौँ के हुन्छ ?’ स्रोतले क्यापिटल नेपाललाई भन्यो, ‘निचोडमा पुगेको अवस्था भने हैन ।’ कमर्ज एन्ड ट्रष्ट बैङ्कलगायत विभिन्न विकास बैङ्क र वित्त कम्पनी गरी आधादर्जनभन्दा बढीलाई प्राप्ति (एक्विजिसन) गरेको ग्लोबल आईएमईले पुँजीगत रुपमा ठूलो बैङ्क बन्नका लागि मर्जरमा जान छलफल थालेको हो । ग्लाेबल बैंकले कुमारीसँग सबैभन्दा बढी छलफल गरेकाे ग्लाेबल बैंक स्राेतले क्यापिटल नेपाललाइ जानकारी दियाे । मर्जमा जानुपर्ने आवश्यकताअनुसार विभिन्न बैंकसँग छलफल भइरहेकाे स्राेतकाे दाबी छ । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कको संख्या घटाउन चुक्ता पुँजी ४ गुणा बढाउँदा पनि हकप्रद सेयर निष्कासन, बोनस सेयर र केही संस्थालाई प्राप्ति गरेर वाणिज्य बैङ्कहरुले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएका छन् । कुमारीले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पर्याउन दुई आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.५ प्रतिशत बोनस सेयर दिने भएको छ । सिभिल बैङ्कले पनि न्यूनतम चुक्ता पुँजी पुर्याउनका लागि १०.५ प्रतिशत बोनस सेयर दिँदै छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कले पुर्याउन सकेको छैन। सेयरधनीबीचको लफडाले एनसीसीले पुँजी पुर्याउन नसकेको हो । केन्द्रीय बैङ्कले ल्याएको मर्जर प्राप्ति योजना गत आर्थिक वर्षमा सकिएको छ । केन्द्रीय बैङ्कले मर्जरको योजना ल्याए पनि वाणिज्य बैङ्कको संख्या घट्न सकेको छैन । राष्ट्र बैङ्कले पुँजी बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने हल्ला चल्दै आएको छ । ग्लोबलको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ८३ लाख, सेन्चुरीको ८ अर्ब ६ करोड ३४ लाख, नेपाल बंगलादेशको ८ अर्ब ९ करोड २१ लाख र कुमारीको ७ अर्ब १६ करोड ३३ लाख रुपैयाँ छ । कुमारीले वार्षिक साधारणसभा गरेर चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउँदै छ । डेढ महिनाअघि अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको उद्घाटन समारोहमा बोल्दै बैङ्कको संख्या बढी भएकाले मर्जर वा प्राप्तिमा जान सुझाएका थिए । ठूला परियोजनामा लगानी गर्न वित्तीय आकार ठूलो भएको र प्रतिस्पर्धी बैङ्कले मात्र सक्ने भएकाले मर्जरको विकल्प नभएको उनले बताएका थिए । राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले पनि मर्जरमा जान बैङ्कहरुलाई सुझाउँदै दिँदै आएका छन् । गत फागुन मसान्तसम्म १६५ ओटा बैङ्क तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२३ ओटा संस्थाहरुको इजाजत खारेज हुन गई ४२ कायम भएका छन् ।
No comments