Header Ads

निजीले पनि खोप ल्याउने

 

निजीले पनि खोप ल्याउने

काठमाडौँ — सरकारले कोरोनाविरुद्धको खोप सहजै ल्याउन नसक्ने भएपछि निजी कम्पनीलाई अनुमति दिने तयारी गरेको छ ।


भारतको सिरम कम्पनीले उत्पादन गरेको २० लाख डोज कोभिसिल्ड खोप खरिद गर्न अग्रिम भुक्तानी दिए पनि १० लाख डोज खोप समयमा दिएको छैन । त्यस्तै ५० लाख खोप खरिदको प्रस्ताव गर्दा तत्काल दिन नसक्ने पत्र पठाइसकेको छ । नेपालमा प्रयोग भइसकेको खोप सरकारले सहजै ल्याउन नसक्ने भएपछि निजीलाई अघि सार्न लागिएको हो । निजीले खरिद गरेर ल्याएपछि उसैले बिक्री गर्ने गरी अनुमति दिन लागिएको छ । खोप आयात गर्ने कम्पनीले खरिद, ढुवानी, भण्डारण गर्दाको मूल्यमा १० प्रतिशत नाफा दिएर सर्वसाधारणलाई लगाउन दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । ‘खोप ल्याएर हामीले तोकेको लक्षित वर्गलाई लगाउने गरी इच्छुक कम्पनीलाई सम्पर्कमा आउन दुई/तीन दिनमै आह्वान गर्दै छौं,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘निजीले खोप ल्याउँदा पनि आफूखुसी मूल्य लिन पाउनेछैनन् । लागत मूल्यमा बढीमा १० प्रतिशतसम्म नाफा लिन पाउने व्यवस्था गर्छौं ।’

सरकारले भारतबाट एक डोजको ४ डलरमा खरिद गरेको थियो । सिरम इन्स्टिच्युटको नेपाल एजेन्ट हुकुम इन्टरप्राइजेज हो । खोप आयात गर्न चाहने कम्पनीका एक प्रतिनिधिले निजीले पनि तीन महिनाअघि खोप ल्याउन सम्भव नभएको बताए । ‘सरकारले यो निर्णय गर्न ढिलाइ भयो, एक महिनाअघि यो निर्णय भएको भए हामी सहजै खोप ल्याउन सक्थ्यौं,’ ती प्रतिनिधिले भने, ‘अहिले त कम्पनीले मागअनुसार खोप उत्पादन गर्नै सकेको छैन । भारत सरकारको प्रत्यक्ष निगरानीमा रहेकाले कम्पनीले चाहँदैमा बिक्री गर्न सक्दैन ।’ मन्त्रालयले यसअघि ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने घोषणा गरेको थियो तर खोप उत्पादन गर्ने कम्पनीले तत्काल खोप दिन नसक्ने पत्र पठाएपछि ६५ वर्षमाथिका नागरिकलाई मात्रै खोप दिने निर्णय सच्याउनुपरेको थियो ।

सरकारले सिरमबाट खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज फागुन ९ मा नेपाल आएको थियो । बाँकी १० लाख डोज फागुन २३ सम्म पठाउने सिरमले स्वास्थ्य सेवा विभागलाई प्रतिबद्धता जनाएको थियो, यो खोप पनि अप्रिलसम्म पठाइसक्ने सिरमले पत्र पठाएको स्रोतले जनाएको छ । ‘१० लाख खोप पनि ढिलाइ हुन्छ, तत्काल पठाउन सकिँदैन, असहज हुन्छ भने हामीलाई पठाएको पैसा फिर्ता पठाउन पनि तयार छौं भनेर पत्र आएको छ,’ विभाग स्रोतले भन्यो । विभाग र मन्त्रालयका पदाधिकारीहरूले भने अग्रिम भुक्तानी दिएको १० लाख खोप सोमबारसम्म आइसक्ने दाबी गर्छन् । ‘मार्च १५ (सोमबार) सम्म खोप आउने सम्भावना छ, आएन भने भारत सरकारसँग नै कुरा अघि बढाउँछौं,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘५० लाख खोप खरिदबारे कुनै पनि प्रक्रिया अघि बढेकै छैन ।’

साभारः कान्तिपुर

No comments

copyright -2015. Theme images by Petrovich9. Powered by Blogger.