थाइल्यान्डमा रोकियो एस्ट्राजेनेका-अक्सफोर्डको कोरोना खोप अभियान
थाइल्यान्डमा रोकियो एस्ट्राजेनेका-अक्सफोर्डको कोरोना खोप अभियान
बैंकक — थाइल्यान्डले एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा बनाएको कोरोना खोपको प्रयोगमा अस्थायी रुपमा रोक लगाएको छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा तथा केन्द्रीय मन्त्रीहरुले शुक्रबार खोप लगाएर मुलुकभर कोरोना खोप अभियान सुरु गर्ने योजना थियो ।
तर एस्ट्राजेनेका–अक्सफोर्ड कोरोना खोप लगाएका व्यक्तिको शरीरमा रगत जम्ने(ब्लड क्लटिङ) को समस्या देखिएको केही रिपोर्ट सार्वजनिक भएका कारण उक्त अभियान हाललाई रोकिएको बताइएको छ । थाई स्वास्थ्य मन्त्रालयद्वारा जारी पत्रकार सम्मेलनमा सिरिराज अस्पतालका चिकित्सा संकायका डिन प्रसित वातानापाले खोप अभियान अहिलेलाई रोकिएको जानकारी दिएका हुन् । डेनमार्क, नर्वे, आइसल्यान्डलगायतका केही युरोपेली मुलुकले यस खोपको प्रयोगमा अस्थायी रुपमा रोक लगाएका छन् । करिब ५० लाख युरोपेली नागरिकले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप लगाइसकेका छन् । खोप लगाएकामध्ये ३० जनाको शरीरमा रगत जम्ने समस्या देखिएको बताइएको छ ।
बिहीबार युरोपियन मेडिसिन्स एजेन्सी(ईएमए) ले कोरोना खोपकै कारण ती व्यक्तिको शरीरको रगत जमेको यकिन नभए पनि खोपको जोखिम कम गर्नका लागि यसलाई केही समय रोक्दा राम्रो हुने बताएको थियो ।
थाई स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले अक्सफोर्ड–एस्ट्राजेनेका खोप लगाएका एसियाली मुलुकका व्यक्तिमा समस्या नदिएको बताएका छन् । थाइल्यान्डको कोभिड–१० खोप अभियान समितिका सल्लाहकार पियासकोल सकोल्सटायडर्नले भने, ‘एस्ट्राजेनेकाको गुणस्तर राम्रो छ । तर केही देशले अहिले यसको प्रयोगमा रोक लगाएकाले हामीले पनि रोकेका हौँ ।’ एस्ट्राजेनेकाले भने खोप सुरक्षित होस् भनेरै परीक्षणकै समयमा गहिरो अध्ययन गरिएको दाबी गरेको छ । एस्ट्राजेनेकाको १ लाख १७ हजार ३ सय डोज फेब्रुअरी २४ मै थाइल्यान्ड पुगेको थियो । साथै चिनियाँ कोरोना खोप कोरोनाभ्याकको पनि २ लाख डोज थाइल्यान्ड पुगिसकेको छ । थाइल्यान्डमा फेब्रुअरी २८ देखि कोरोना खोप लगाउन थालिएको हो । थाइल्यान्डमा ३० हजारभन्दा बढीले खोप लगाइसकेका छन् । थाई सरकारका अनुसार कोरोनाभ्याकको प्रयोग भने रोकिने छैन ।
डेनमार्कले केही दिनअघि खोप लगाएकी ६० वर्षीया महिलाको मृत्यु भएपछि एस्ट्राजेनेकाको कोरोना खोपको प्रयोग २ हप्ताका लागि रोकेको छ । ती महिलाको मृत्यु शरीरमा रगत जम्ने समस्याबाट भएको डेनिस अधिकारीहरुको दाबी छ । नर्वे र आइसल्यान्डले भने पूर्वसावधानी अपनाउँदै अहिलेलाई उक्त खोपको प्रयोगमा रोक लगाएको बताएका छन् ।
साभार- कान्तिपुर
No comments