Header Ads

कांग्रेस प्रजा परिषदजस्तो हुने भयो, अब म सभापतिमा लड्छु: सुजाता कोइराला


नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १४ औं महाधिवेशनमा आफूले पनि सभापतिमा उम्मेदवारी दिने बताएकी छन्।महाधिवेशन फागुनमै गर्ने कि सार्ने भन्ने बहस चलिरहेका बेला कोइरालाले आफू अब सभापतिमा उठ्ने बताएकी हुन्।


अहिलेको नेतृत्व विधि विधानअनुसार नचलेको बताउँदै कोइरालाले कांग्रेस सुधारका लागि आफूले सभापतिमा उम्मेदवारी दिने बताएकी हुन्।उनले यो कुरा आइतबार राति गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले जिल्ला सभापतिहरूसँग गरेको भर्चुअल संवादमा गरेकी हुन्।‘म पनि अब सभापतिमा लड्छु,’ उनले भनिन्, ‘अहिले पार्टीमा लिडरसीप छैन। व्यक्तिगत प्रचार र काम गर्ने? कुनै विधि पद्धतिमा पार्टी चलेको छैन।’उनले पार्टी विधानअनुसार चल्न नसकेको आरोप लगाइन्।‘कांग्रेस लथालिंग छ अब सुधार्नुपर्छ,’ कोइरालाले भनिन्, ‘नेविसंघ, तरूण दललगायत पार्टीका पिलरहरूको चुनाव भएको छैन। 

शिथिल छ। उत्साह गुमाएको छ।’उनले नेतैपिच्छेका गुट अन्त्य गर्नुपर्ने बताइन्। नेविसंघमा नेतैपिच्छे गरी पाँच गुट रहेको कोइरालाको भनाइ छ।गुटले पार्टी र प्रजातन्त्रलाई समेत कमजोर बनाउने भएकोले एकतावद्ध भई अगाडि बढ्नुपर्ने उनले बताइन्।‘कांग्रेस कमजोर भए प्रजातन्त्र कमजोर हुन्छ। प्रजा परिषदजस्तो हुने बाटोमा कांग्रेस गइरहेको छ,’ उनले भनिन्।पार्टीको महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने उनको अडान छ। कोरोनाको बाहनामा महाधिवेशन धकेल्न नहुने तर्क उनले राखेकी छन्।‘अमेरिका र भारतमा चुनाव भइरहेको छ। हाम्रो पार्टीमा इच्छा शक्ति हुनुपर्‍यो, चुनाव गर्न नसक्ने होइन,’ उनले भनिन्, ‘पदको लोभ गर्न पनि भएन।’उनले कार्यकर्तालाई नेताका पछाडि नलाग्न आग्रह गरेकी छन्।‘गुटबन्दीलाई समाप्त पारौं। युवालाई नेताको पछि होइन, आफ्नै नेतृत्व क्षमता विकास गर्नुपर्ने सन्देश दिऔं,’ उनले भनिन्, ‘युवाहरू कोही पनि नेताको नोकर नहौं।’सुजाता कांग्रेसका पूर्वसभापति गिरिजाप्रसादकी छोरी हुन्।

उनी २०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा पनि सभापति लड्ने बताएकी थिइन्। तर अन्तिम समयमा उनले सभापतिमा उम्मेद्वारी दिइनन्।उनीसहित कोइराला परिवारले त्यसबेला रामचन्द्र पौडेलको नेतृत्वमा महाधिवेशनमा गएका थिए। उनी अब १४ औं महाधिवेशनमा सभापति लड्ने भइन् भने कोइराला परिवारबाटै सभापतिमा तीन उम्मेदवार हुन्छन्।महामन्त्री रहेका शशांक कोइराला र केन्द्रीय सदस्य शेखरले सभापतिमा उम्मेदवारी दिन तयारी गरिरहेका छन्।लामो समयदेखि मौन रहेकी सुजाताले पछिल्लो समय सभापतिमा लड्ने बताउँदै आएकी छन्।पार्टीमा महिलालाई पनि नेतृत्वमा पुर्‍याउनुपर्ने भएकोले सभापतिमा उम्मेदवारी दिने उनको भनाइ छ।साभार- सेतोपाटि


No comments

copyright -2015. Theme images by Petrovich9. Powered by Blogger.