प्यूठान टिकुरी बसपार्क संचालनमा नगरपालिकाको उदासिनता
प्यूठान खवर । टिकुरी स्थित प्यूठान बसपार्क संचालनमा ढिलाई भएको छ। प्यूठान नगरपालिकाको उदासिनताका कारण बसपार्क मंसिर महिनामै संचालन हुनेबारे अन्यौलता छाएको छ। बसपार्क देखि बाग्दुलासम्म जोडिने करिब २ सय मिटर दुरी रहेको ट्रयाकमा नाली तथा ग्राभेलको काम हुने सुनिश्चितता नहुँदा बसपार्क संचालन आउनेबारे आसंका उब्जाएको प्यूठान बसपार्क व्यवस्थापन तथा संचालक समितिका अध्यक्ष शालिग्राम पण्डितले जानकारी दिए।
‘बसपार्कको सम्पूर्ण भौतिक पूर्वाधार तथा संरचनाहरु तयार भैसकेको छ।’ पण्डितले भने, ‘२ सय मिटर बाटो ग्राभेलको लागि बजेट अभाव भयो।’ नगरपालिकाले लागत खर्च भुक्तानी दिने घोषणा गरेमा २ दिनभित्र उपभोक्ता समिति मार्फत सडकको काम सकि बसपार्क संचालन गर्न सकिने पण्डितले बताए। नगरपालिकाको स्वामित्वमा रहेको बसपार्क संचालनमा नगरपालिकाले नै अग्रसरता नदेखाएको प्रति पण्डितले चिन्ता व्यक्त गरे।
‘बसपार्कबाट हुने आम्दानी पनि त नगरपालिकाकै हुनेहोला नी।’ पण्डितले भने, ‘ आम्दानी पाउन केहि लगानी नगरले पनि गर्नुपर्ने दायित्व हुँदैन र?’ बसपार्क निर्माणमा डिभिजन शहरी विकास कार्यालय रोल्पाले अहिलेसम्म करिब ६ करोड रुपैयाँ लगानी गरिसकेको छ। टिकुरी देखि बसपार्क सम्म ९ मिटर चौडा बाटोमा पिच गर्ने काम धमाधम भैरहेको छ। ‘आयोजनाको वाँकी काम तथा बजेट यहि मंसिरमा नै सकिँदै छ।’ अध्यक्ष पण्डितले भने, ‘आयोजनाकै मुखताके अर्को वर्ष मात्रै बसपार्क संचालनमा आउने अवस्था आउँछ।’
No comments