"छलफलमा मर्जरपछि कुमारी बैङ्ककै प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी नै रहने विषयमा दुई बैङ्कका सञ्चालकबीच सहमतिसमेत भएको छ । ग्लोबल आईएमईमा जनक शर्मा पौडेलले राजीनामा गरेपछि त्यहाँ सीईओ पद खाली छ ।"
काठमाडौं । ग्लोबल आईएमई बैङ्क र कुमारी बैङ्कबीच एकआपसमा गाभिने (मर्जर)मा जाने विषयमा भएको छलफल एक चरण अघि बढेको छ ।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कबाट दबाब बढेपछि मर्जरमा जान वाणिज्य बैङ्कले तयारी थालेका हुन् । बैङ्कको संख्या घटाउने सरकारको रणनीतिकै कारण बैङ्कहरु अहिले आफू बराबरका बैङ्कसँग मर्जरमा जानका लागि प्रारम्भिक छलफल र तयारीसमेत थालेका छन् ।
ग्लोबल आईएमई र कुमारीबीच मर्जरका लागि दुवैका सञ्चालकहरुको बैठक पटकपटक बसिसकेको छ । ग्लोबलसँग सेन्चुरी र एनबी बैङ्कको पनि मर्जरका लागि छलफल भएको थियो । तर कुमारी र ग्लोबल आईएमईबीचको छलफल एक स्टेप अगाडि बढेको कुमारी बैङ्कका एक सञ्चालकले क्यापिटल नेपाललाई बताए ।
छलफलमा मर्जरपछि कुमारी बैङ्ककै प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी नै रहने विषयमा दुई बैङ्कका सञ्चालकबीच सहमतिसमेत भएको छ । ग्लोबल आईएमईमा जनक शर्मा पौडेलले राजीनामा गरेपछि त्यहाँ सीईओ पद खाली छ ।
छलफलमा ग्लोबल आईएमईमा कुमारीको नाम पनि जोडिनुपर्ने कुरा उठेको थियो । तर बैङ्कको नाम लामो हुने र राष्ट्र बैङ्कले लामो नामलाई स्वीकृत नदिने विषय उठेपछि नाममा फेरि छलफल गर्ने बताइएको छ ।
‘ग्लोबल आईएमई बैङ्कको सञ्जाल र ब्रान्ड कुमारीको भन्दा बलियो छ, त्यसैले मर्जर भयो भने पनि नाम त यही नै हुन्छ,’ ग्लोबल आईएमईका मुख्य प्रवद्र्धकमध्ये एकले क्यापिटल नेपाललाई बताए । छलफल अघि बढेकाले सेयर आदानप्रदान (स्वाप रेसियो) विषयमा प्रवेश भएको छैन ।
छलफलमा कुमारीमा रहेको कर्मचारी युनियनको विषयमा पनि कुरा उठेको थियो । कुमारीमा रहेको कर्मचारी युनियनलाई भङ्ग गरेर मर्जरमा आउनुपर्ने माग ग्लोबल बैङ्कले राखेको थियो । ग्लोबलले कुमारीसँग मर्जरको सहमति नभए सानिमा बैङ्कसँग पनि मर्जर गर्ने गरी तयारी थालेको छ । ग्लोबल आईएमईले आफ्नो ब्रान्डलाई नै कायम राख्ने गरी कुरा मिलेमा आफूबराबरको जुन बैङ्कसँग पनि मर्जर गर्ने रणनीति राखेको छ ।
ग्लोबलले कुमारी बैङ्क, नेपाल–बंगलादेश बैङ्कले र सेञ्चुरी कमर्सियल बैङ्कसँग मर्जरका लागि बेग्लाबेग्लै छलफल थालेको छ ।
कमर्ज एन्ड ट्रष्ट बैङ्कलगायत विभिन्न विकास बैङ्क र वित्त कम्पनी गरी आधा दर्जनभन्दा बढीलाई प्राप्ति (एक्विजिसन) गरेको ग्लोबल आईएमई पुँजीगत रुपमा ठूलो बैङ्क बन्न मर्जरमा जान छलफल थालेको हो । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कको सङ्ख्या घटाउन चुक्ता पुँजी ४ गुणा बढाउँदा पनि हकप्रद सेयर निष्कासन, बोनस सेयर र केही संस्थालाई प्राप्ति गरेर वाणिज्य बैङ्कहरुले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएका छन् । कुमारीले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पर्याउन दुई आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
केन्द्रीय बैङ्कले ल्याएको मर्जर प्राप्ति योजना गत आर्थिक वर्षमा सकिएको छ । केन्द्रीय बैङ्कले मर्जरको योजना ल्याए पनि वाणिज्य बैङ्कको सङ्ख्या घट्न सकेको छैन । राष्ट्र बैङ्कले पुँजी बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने हल्ला चल्दै आएको छ ।
ग्लोबलको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ८३ लाख र कुमारीको ७ अर्ब १६ करोड ३३ लाख रुपैयाँ छ । कुमारीले वार्षिक साधारणसभा गरेर चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउँदै छ । फागुन मसान्तसम्म १ सय ६५ ओटा बैङ्क तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १ सय २३ संस्थाको इजाजत खारेज हुन गई ४२ कायम भएका छन् ।
No comments